कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९४ करोड ५५ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाको सत्रौँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख जोगराम चौधरीले उक्त बजेट प्रस्तुत गरेका हुन्। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगार सिर्जना, सामाजिक सुरक्षा, सुशासन तथा सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ।
नगरपालिकाले उपलब्ध स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै समावेशी तथा सन्तुलित विकासको लक्ष्य लिएको जनाएको छ। बेलौरीले आफ्ना १० वटै वडाका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरेको छ, जसअनुसार वडा नं. ८ ले सबैभन्दा बढी र वडा नं. १ ले सबैभन्दा कम बजेट पाएका छन्।
नगर सभाध्यक्ष एवम् नगर प्रमुख पोतिलाल चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाको उद्घाटन सत्रबाटै पारित भएको छ। उनले बजेटलाई नगरको समृद्धिको मार्गचित्र भएको उल्लेख गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीले बजेट व्यावहारिक, कार्यान्वयनयोग्य र स्रोतमा आधारित रहेको बताउँदै पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिइने जानकारी दिए। त्यस्तै, नगर प्रवक्ता हर्कबहादुर भुलले बजेट जनमुखी र विकासमुखी रहेको उल्लेख गर्दै आगामी वर्ष विकासले थप गति लिने विश्वास व्यक्त गरे।
नगर सभामा प्रस्तुत न्यायिक समितिको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३२ मुद्दा दर्ता भएकामा २२ वटा मिलापत्रमार्फत समाधान भएका छन् भने १० वटा बाँकी रहेका छन्। जग्गा विवाद, रकम लेनदेन, ज्याला मजदुरी तथा अन्य प्रकृतिका मुद्दा दर्ता भएको प्रतिवेदनमा उल्लेख छ। नगरपालिकाले बजेट कार्यान्वयनमा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको जनाएको छ।



