काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा रहेको रोयल कटेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। बर्दघाट नगरपालिकाका वडाहरूलाई बालमैत्री घोषणा गर्ने सिलसिलामा अनुगमनका लागि पुगेको टोलीले सो होटलमा खाना खाने क्रममा सागमा सङ्खेकीरा भेटिएपछि उक्त कारबाही गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) पोषणराज भण्डारीको नेतृत्वमा रहेको अनुगमन टोलीले होटलमा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लंघन भएको भन्दै तत्कालै जरिवाना गर्ने निर्णय गरेको थियो। जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन टोलीले होटलमा प्रयोग भइरहेका अन्य खाद्य सामग्री र खानासमेत अस्वस्थकर रहेको फेला पारेको सहायक सिडिओ भण्डारीले बताएका छन्।




