फुटबलको महाकुम्भ चलिरहँदा नेपाली फुटबलमा लाग्यो प्रतिबन्ध, यस्ता छन् कारण

प्रकाशित मिति:

काठमाडौं । विश्वकपको उत्साहका बीच नेपाली फुटबल समर्थकहरूका लागि एउटा अप्रिय खबर सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले तेस्रो पक्षको हस्तक्षेप भएको उल्लेख गर्दै फिफा विधानको धारा १४ बमोजिम अर्को सूचना नआएसम्मका लागि एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो। यस निलम्बनसँगै नेपालले अब अन्तर्राष्ट्रिय फुटबलका कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। फिफा विधानको धारा १३ अनुसार एन्फाले आफ्ना सम्पूर्ण सदस्यता अधिकार गुमाएको छ। निलम्बन कायम रहुञ्जेल राष्ट्रिय टोलीदेखि क्लबहरूले समेत अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैनन् भने फिफा र एएफसीबाट प्राप्त हुने आर्थिक अनुदान तथा प्रशिक्षणका सुविधाहरू समेत पूर्ण रूपमा बन्द हुनेछन्।

पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिले कार्यकाल सकिनु चार महिनाअघि नै ‘अर्ली इलेक्सन’ गर्ने घोषणा गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग विवाद सुरु भएको थियो। राखेपको निर्देशन अवज्ञा गर्दै एन्फा अघि बढेपछि राखेपले एन्फालाई निलम्बन गरेको थियो। पछि राखेपले निलम्बन फुकुवा गरे पनि एन्फा पदाधिकारीहरूको ध्यान फुटबल गतिविधि भन्दा विदेश भ्रमणमा केन्द्रित भएको देखियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एन्फामाथि आर्थिक छानबिन सुरु गरेपछि राखेपको सिफारिसमा पदाधिकारीहरूलाई विदेश जान रोक लगाइएको थियो। फिफा विश्वकप हेर्न अमेरिका जाने तयारीमा रहेका अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले विमानस्थलबाटै फर्काएकाे थियो। आफूहरूलाई यात्रा प्रतिबन्ध लगाइएको भन्दै एन्फाले फिफा र एएफसीसमक्ष रिपोर्टिङ गरेपछि अन्ततः फिफाले नेपालमाथि निलम्बनको निर्णय सुनाएको हो।

एन्फा प्रवक्ता सुरेश शाहले सरकारको कदमबारे फिफाले मागेको स्पष्टीकरणको राज्यबाट उचित सम्बोधन नभएका कारण यो स्थिति आएको दाबी गरे। यता राखेपका सदस्यसचिव रामचरित्र मेहताले भने नेतृत्वको व्यक्तिगत स्वार्थ र गलत क्रियाकलापका कारण एन्फा निलम्बनमा परेको बताए। उनले नेपाली फुटबल, खेलाडी र रेफ्रीलाई असर पर्न नदिने गरी सरकारले वैकल्पिक योजनामा छलफल गरिरहेको र फिफासँग संवाद बढाउने जानकारी दिए। नेम्वाङ नेतृत्वको कार्यसमिति नियमित रूपमा ‘ए डिभिजन लिग’ नगरेको, पदाधिकारीको सुविधा बढाएको र दशरथ रंगशालालाई एएफसीको मापदण्ड अनुसार योग्य राख्न नसकेको भन्दै पहिलेदेखि नै आलोचित बन्दै आएको थियो। नियमित लिग नहुँदा र व्यवस्थापकीय कमजोरीका कारण कयौँ खेलाडीहरू पलायन भइसकेका छन् भने प्रशिक्षकहरूले समेत राजीनामा दिएका छन्।

एन्फाका पूर्वअध्यक्ष कर्मछिरिङ शेर्पाले यस निलम्बनलाई ठूलो दुर्घटनाको संज्ञा दिँदै सरकारले एउटा विशेष टोली बनाएर तहगत निर्वाचन गराउन र प्रतिबन्ध फुकुवाका लागि फिफासँग तत्काल समन्वय गर्नुपर्ने सुझाव दिए। त्यस्तै, फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले व्यवस्थापकीय कमजोरीका कारण यो अवस्था आएको भन्दै अब नयाँ ढंग र नयाँ सोचका साथ सबै सरोकारवालाहरूले आफ्नो गल्ती महसुस गरेर नेपाली फुटबललाई सुधार्न लाग्ने यो एउटा अवसर पनि भएको धारणा राखे।

ताजा समाचार