धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित उपकुलपति तथा रजिस्ट्रार नियुक्ति सिफारिस समितिले उपकुलपति पदका लागि आवेदन दिएका तीन जना र रजिस्ट्रार पदका लागि आवेदन दिएका सात जनालाई सर्टलिस्टमा समावेश गरेको हो। विश्वविद्यालय सभाले पदाधिकारी नियुक्तिका लागि प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। सिफारिस समितिको सूचनाअनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्तापछि उपकुलपति तथा रजिस्ट्रारको अन्तिम सिफारिस गरिनेछ, जसका लागि असार १५ गतेको मिति तोकिएको छ।
समितिको सूचनाअनुसार उपकुलपति पदका लागि तनहुँका प्राध्यापक डाक्टर काजिराम अधिकारी, काठमाडौंका प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रुपन्देहीका प्राध्यापक डाक्टर माधव लम्साल सर्टलिस्टमा परेका छन्। उपकुलपतिको दौडमा रहेका जोशी यसअघि पनि यस विश्वविद्यालयका उपकुलपति रहिसकेका व्यक्ति हुन्। सरकारद्वारा अध्यादेशमार्फत नयाँ व्यवस्था लागू गरिएपछि उनी पदमुक्त भएका थिए।
त्यसैगरी रजिस्ट्रार पदका लागि सात जना उम्मेदवारहरू सर्टलिस्टमा परेका छन्। जसमा कैलालीका प्राध्यापक डाक्टर पदमराज जोशी, तनहुँका प्राध्यापक डाक्टर काजिराम अधिकारी, बैतडीका भीमबहादुर चन्द, महोत्तरीका डाक्टर कादिर आलम, बर्दियाका प्राध्यापक डाक्टर दयाराम पोखरेल, बैतडीका राजेशकुमार ठकुराठी र कञ्चनपुरका डाक्टर डमरुप्रसाद पनेरु रहेका छन्। उपकुलपति र रजिस्ट्रार दुवै पदको सर्टलिस्टमा पर्नेमा प्राध्यापक डाक्टर काजिराम अधिकारी मात्र रहेका छन्। समितिको अन्तिम मूल्याङ्कनपछि मात्रै दुवै पदको अन्तिम नियुक्ति टुङ्गो लाग्नेछ।



