कंचनपुर । सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी क्षेत्रमा सोमबारदेखि लगातार तीन दिनसम्म मध्यम वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका अधिकांश क्षेत्रमा सोमबार बिहानदेखि बुधबारसम्म मनसुनी वर्षा हुने अनुमान गरिएको हो।
मौसमविद् सरोज पुडासैनीका अनुसार हाल मनसुन लुम्बिनी प्रदेशको बर्दघाट आसपास पुगेको छ र आगामी तीन दिनभित्र सुदूरपश्चिम प्रदेशमा प्रवेश गर्ने सम्भावना छ। मनसुन सक्रिय भएसँगै प्रदेशभर मध्यम वर्षा गराउने मौसमी प्रणाली विकसित हुने उनले बताएका छन्। लामो समयदेखि वर्षा नहुँदा कैलाली र कञ्चनपुरमा तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेर जनजीवन प्रभावित हुनुका साथै पानी अभावले धान रोपाइँसमेत प्रभावित भएको छ। यो वर्षासँगै तापक्रम घट्ने, गर्मीबाट राहत मिल्ने र किसानहरूलाई रोपाइँका लागि सहज हुने अपेक्षा गरिएको छ।



