काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई परिस्थिति अनुसार बदलिने र क्रमभङ्ग गर्ने गतिशील नेताको रूपमा प्रस्तुत गरेका छन्। जननेता मदन भण्डारीको स्मरणमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूमा यस्तो गतिशीलता नभएको भए राजनीतिमा अहिलेसम्म ‘प्रचण्डपथ’ नै चलिरहने र अहिलेको सहकार्यको वातावरण नै नबन्ने दाबी गरे। समाज, प्रकृति र मानव विकासको नियम नै निरन्तरतामा क्रमभङ्गता हुनु रहेको चर्चा गर्दै उनले परिस्थिति फेरिँदा नेताहरू पनि फेरिनुपर्ने बताए। बदलिएको अवस्थामा पनि कतिपय साथीहरू पुरानै ठाउँमा अडिएर बस्दा कतै पुग्न नसकिने भन्दै उनले आफूलाई परिवर्तनको बहाव बुझ्ने नेताका रूपमा चिनाए।
अध्यक्ष प्रचण्डले जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन आफूले कठोर मिहिनेत गरेको र आफू नभएको भए त्यो सम्भव नहुने दाबी गरे। विगतका पुराना कुरा र अडानमै मात्र अल्झिएको भए दलहरूबीच अहिलेको भेटघाट र एकताको प्रयास नै नहुने उनको भनाइ थियो। उनले राजनीतिमा लागेका सबैले देशको आवश्यकता र परिस्थिति अनुसार आफूलाई परिमार्जन गर्दै लैजाने क्षमताको विकास गर्नुपर्नेमा जोड दिए।



