कोहलपुरमा आफ्नै भाइद्वारा दाइको हत्या, अभियुक्त नियन्त्रणमा

प्रकाशित मिति:

कोहलपुर । बाँकेको कोहलपुरमा भाइको कुटपिटबाट एक युवकको मृत्यु भएको छ। कोहलपुर नगरपालिका–४, गोहवा बस्ने २० वर्षीय विनोद चौधरीको कुटपिटबाट उनका सहोदर दाइ २५ वर्षीय मनोज चौधरीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आइतबार राति घरायसी विवादका क्रममा विनोदले दाइ मनोजलाई मरणसन्न हुने गरी कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका मनोजको सोही कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै फरार भएका आरोपी विनोदलाई इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट मदनचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बिहान कोहलपुर नगरपालिका–१५ बाट नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

ताजा समाचार