काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनको चुनौतीलाई चिर्दै धान उत्पादनमा आत्मनिर्भर बन्न आधुनिक प्रविधि, अनुसन्धान र सरोकारवालाहरूबीचको सहकार्य जरुरी रहेको बताएकी छन्। २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै उनले धान नेपाली संस्कृति र परम्परासँग जोडिएको मुख्य बाली भएको उल्लेख गरिन्।
उनका अनुसार जैविक विविधता, जलवायु अनुकूलन र दीर्घकालीन खाद्य सुरक्षाका लागि स्थानीय तथा जङ्गली धानका जातहरूको संरक्षण र संवर्द्धन गर्नु आवश्यक छ। यस वर्षको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ ले वर्तमान कृषि क्षेत्रका मुख्य चुनौतीहरूलाई सम्बोधन गर्ने विश्वास उनले व्यक्त गरिन्।
चामलको आयात घटाउनका लागि वर्षे र चैते धानको खेती गरिने क्षेत्रफल बढाउनुपर्नेमा मन्त्री चौधरीको जोड छ। यसका साथै उन्नत जातको विकास, प्रविधि हस्तान्तरण, सिँचाइको विस्तार, कृषि सामग्रीमा सहज पहुँच र धानको उचित मूल्य सुनिश्चिततालाई प्राथमिकता दिनुपर्ने उनले बताइन्। मन्त्री चौधरीले स्थानीय र जङ्गली धानका जातहरूको पहिचान तथा संकलन गर्दै जलवायु अनुकूलन गर्ने नयाँ जातहरू विकास गर्न विशेष ध्यान दिनुपर्ने धारणा समेत राखेकी छन्।



