काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सीमावर्ती क्षेत्र सुस्ताका बासिन्दा नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाको माग गर्दै राजधानी काठमाडौँ आइपुगेका छन्। वर्षौँदेखिको आफ्नो समस्या समाधानका लागि सरकारलाई आग्रह गर्न उनीहरू आवश्यक बन्दोबस्तीका सामानसहित काठमाडौँ आएका हुन्। सुस्ताबासीले आज (मंगलबार) देखि माइतीघर मण्डलामा धर्ना दिने तयारी गरेका छन्।
आइतबार बुटवलमा ‘सुस्ता बचाउ अभियान’ र ‘सुस्ता बचाउ युवा अभियान’ले संयुक्त पत्रकार सम्मेलन गरी काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए। सीमाको रक्षा गर्दै जीवन बिताएका धेरै सुस्ताबासी अझै पनि नागरिकताबाट वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ। सुस्ता–५ मा मात्रै हाल करिब १२० घरपरिवार नागरिकताविहीन अवस्थामा छन्। नागरिकता नहुँदा स्थानीय बासिन्दा शिक्षा, स्वास्थ्य, रोजगारी, बैंकिङ र अन्य आधारभूत सरकारी सेवाबाट वञ्चित हुनुपरेको सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खाँले बताउनुभयो।
सरकारी अभिलेख अनुसार सुस्ता क्षेत्रमा करिब ४० हजार ९८० हेक्टर नेपाली भूमि रहेको भए पनि स्थानीयवासीले अहिले करिब ७ हजार हेक्टर क्षेत्रफल मात्र उपभोग गर्न पाएका छन्। बाँकी भूभाग भारतीय सुरक्षा निकायको नियन्त्रण तथा विवादको घेरामा परेको अभियन्ताहरूको दाबी छ। त्यस्तै, नारायणी नदीको कटान रोक्न सुस्तामा निर्माण गर्न लागिएको १३२ मिटर लामो ग्याबियन तटबन्धमा समेत भारतीय पक्षबाट अवरोध भइरहेको स्थानीयको भनाइ छ।
आफ्ना पीडा सुनाउन पटक–पटक प्रधानमन्त्री सचिवालयसँग समय माग गर्दा पनि समय नपाएको सुस्ताबासीले गुनासो गरेका छन्। उनीहरूले आफूहरूलाई तत्काल नागरिकता वितरण गर्न, भोगचलनमा रहेको जग्गाको नापजाँच गरी लालपुर्जा उपलब्ध गराउन, सीमा सुरक्षालाई सुदृढ बनाउन तथा शिक्षा, स्वास्थ्य, सडक र सञ्चारजस्ता आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न माग गरेका छन्।



