काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि अमेरिका र इरानबिच वार्ता गर्ने सहमति भएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा इन्धनको मूल्यमा तीव्र गिरावट आएको छ। विश्व बजारमा मूल्य घटेपछि श्रीलङ्का सरकारले मङ्गलवारदेखि लागू हुने गरी इन्धनको मूल्यमा छ प्रतिशतसम्म कटौती गरेको छ।
श्रीलङ्काको सरकारी पेट्रोलियम कर्पोरेसनले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर २५ रुपैयाँले घटाएर ३ सय ८२ रुपैयाँ कायम गरिएको छ। यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले कटौती गरी ४ सय १४ रुपैयाँ तोकिएको छ।
यसअघि गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलङ्कामा पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले वृद्धि भएको थियो। द्वन्द्वका कारण आयात लागत बढेपछि त्यहाँ इन्धनसँगै बिजुलीको शुल्क पनि एक तिहाइले बढाइएको थियो। आवश्यक पर्ने सम्पूर्ण इन्धन र बिजुली उत्पादनका लागि कोइला समेत आयात गर्नुपर्ने बाध्यता रहेको श्रीलङ्काको कमजोर अर्थतन्त्रलाई मध्यपूर्वको युद्धविराम र इन्धनको मूल्य कटौतीले ठुलो राहत पुग्ने अधिकारीहरूले जनाएका छन्।



