कैलालीमा स्कुलबाटै बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला

प्रकाशित मिति:

कैलाली । कैलालीको लम्कीचुहामा विद्यालयबाट निर्धारित समय अगावै छुट्टी भएर बेपत्ता भएकी एक ६ वर्षीया बालिका मृत फेला परेकी छन्। लम्कीचुहा नगरपालिका–१ स्थित जनचेतना प्राथमिक विद्यालयको नर्सरीमा अध्ययनरत मनिषा विक बुधबार बिहान १०:४० बजे मृत फेला परेकी हुन्।

लम्कीचुहा–४ निवासी मनिषालाई मंगलबार बिहान करिब ७ बजे उनकी हजुरआमाले विद्यालय पुर्‍याएकी थिइन्। विद्यालयको नियमित बिदा हुने समय ११ बजे भए पनि मंगलबार भने बिहान ९ बजे नै छुट्टी भएको पाइएको छ। सधैँ झैँ ११ बजे नातिनीलाई लिन विद्यालय पुगेकी हजुरआमाले मनिषालाई त्यहाँ नभेटेपछि उनी हराएको खुलेको थियो।

बालिका बेपत्ता भए लगत्तै प्रहरी र स्थानीयले खोजी कार्य तीव्र पारेका थिए। खोजतलास गर्ने क्रममा लम्कीचुहा–५ चौरीस्थित रोरा खोला किनारमा मनिषाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार