पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन लुकाएर उपभोक्तालाई सास्ती दिने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै नेता शाहीले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्ट नै देशका विभिन्न स्थानबाट इन्धन छैन भन्दै बिक्री बन्द गरिएको सूचना प्राप्त भएको बताएका छन्।

मूल्य घटेपछि पुरानो महङ्गो मूल्यमा खरिद गरिएको इन्धन जोगाएर नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने आशङ्का गरिएको छ। यस्तो कार्य उपभोक्तामाथिको ठगी मात्र नभई बजार प्रणाली र कानुनी शासनमाथिको चुनौती भएको उनको भनाइ छ।

शाहीले सरकार, सम्बन्धित नियामक निकाय तथा अनुगमन टोलीलाई तत्काल बजारमा अनुगमन तीव्र बनाउन र इन्धन लुकाएर बिक्री बन्द गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पहरूको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न आग्रह गरेका छन्।

साथै उनले आम उपभोक्तालाई पनि सचेत रहन अपिल गर्दै, आफ्नो क्षेत्रमा मूल्य घटेपछि इन्धन लुकाइएको वा कृत्रिम अभाव सिर्जना गरिएको पाइएमा सम्बन्धित पेट्रोल पम्पको नाम, ठेगाना, फोटो वा भिडियोसहितको प्रमाण उपलब्ध गराइदिन अनुरोध गरेका छन्। प्राप्त प्रमाणका आधारमा सम्बन्धित निकायको ध्यानाकर्षण गराई दोषीलाई कारबाहीको दायरामा ल्याउन पहल गर्ने उनले बताएका छन्।

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै केही स्थानमा इन्धन बिक्री रोकिएको र कृत्रिम अभाव सिर्जना गरिएको भन्ने गुनासोहरू सार्वजनिक हुन थालेपछि यस विषयले व्यापक चासो पाएको छ।

ताजा समाचार