यात्रु अभावका कारण पहाडी क्षेत्रका विमानस्थलमा नियमित उडानमा समस्या: मन्त्री पौडेल

प्रकाशित मिति:

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले यात्रु अभावका कारण पहाडी क्षेत्रका अधिकांश विमानस्थलमा नियमित उडान गर्न समस्या भएको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले पहाडी क्षेत्रका विमानस्थलहरूबाट प्राप्त रिपोर्टहरू अनुसार उडान सञ्चालन हुन नसक्नुको मुख्य कारण यात्रु सङ्ख्याकै अभाव देखिएको स्पष्ट पारेका हुन्।

देशमा हाल जम्मा ५५ वटा विमानस्थलहरू रहेको जानकारी दिँदै मन्त्री पौडेलले तीमध्ये ३४ वटा विमानस्थलहरू सञ्चालन योग्य अवस्थामा रहेको र २१ वटा विमानस्थल हाल बन्द अवस्थामा रहेको तथ्याङ्क प्रस्तुत गरे।

मन्त्री पौडेलले कालीकोटको सुनथराली विमानस्थल लगायत अन्य पहाडी क्षेत्रका विमानस्थलमा नियमित यात्रुको सुनिश्चितता भएको खण्डमा आवश्यक पर्ने प्राविधिक जनशक्ति, सञ्चार उपकरण लगायतका अन्य प्राविधिक व्यवस्था मिलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्राविधिक जनशक्ति र उपकरणको कुनै कमी नरहेको प्रस्ट पार्दै उनले उडान नै नभएको स्थानमा जनशक्ति राख्नुभन्दा हाल उडान भइरहेका अन्य विमानस्थलहरूमा परिचालन गरिएको जानकारी दिए।

ताजा समाचार