प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध साढे १८ लाखको भ्रष्टाचार मुद्दा

प्रकाशित मिति:

काठमाडौं । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसहित दुई जनाविरुद्ध १८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुवेदीसहित शिरिस कन्स्ट्रक्सन भक्तपुर र त्यसका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो। आर्थिक वर्ष २०७७/०७८ मा पलापु खानेपानी योजनाको ठेक्का सम्झौता रद्द गरी निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगरी बैंक जमानत बापतको रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ।

सात दिनभित्र विश्वसनीय काम नगरेमा सो कम्पनीको ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राख्ने र वैकल्पिक प्रक्रियाबाट काम अघि बढाउने सर्वसम्मत निर्णय भएको थियो। तर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जमानत जफत हुने कानुनी व्यवस्था र सम्झौताको सर्त विपरीत गाउँ कार्यपालिकाको निर्णय लुकाएर बदनियत राखेको अख्तियारको दाबी छ। उनले सम्झौताका क्रममा पेस गरिएको नेपाल बैंक लिमिटेडलाई २०७९ भदौ २७ गते मात्र बैंक जमानतको रकम जम्मा गरिदिन पत्राचार गरेको पुष्टि भएको छ। अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गरेको छ।

ताजा समाचार