धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्राफिक नियमको पूर्ण पालना गर्न र गराउन सरोकारवाला सबैसँग आग्रह गरेका छन्। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले दुर्घटनाको जोखिमबाट बच्न अनिवार्य रूपमा नियम पालना गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि आलोचना खेपेका मुख्यमन्त्री शाहले आफूले जरिवाना तिरेर नियमको सम्मान गरेको स्पष्ट पारे। “कानुनका अगाडि कोही सानो वा ठूलो हुँदैन। नियम सबैले पालना गर्नुपर्छ। सोहीकारण आलोचना भएपछि मैले पनि पाँच सय रुपैयाँ जरिवाना तिरेको छु,” उनले भने। आफ्नो सुरक्षाका लागि सबैले नियम पालना गर्नुपर्छ भन्ने सन्देश दिन जरिवाना तिरेको विषय सार्वजनिक गरेको उनले बताए।



