सञ्चारमन्त्रीको प्रतिबद्धता: प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन

प्रकाशित मिति:

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै पनि मनसाय नराखेको स्पष्ट पारेका छन्। आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकार लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। सरकारको पहिलो १०० दिन नागरिकलाई परिणाममुखी काम देखाउन केन्द्रित रहेकाले व्यस्तता बढेको उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रता हनन गर्न खोजिएको भन्ने आशंकाप्रति सरकार गम्भीर रहेको र यस विषयमा चिन्तित नहुन सम्पूर्ण पत्रकारहरूलाई आग्रह गरे। संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार कार्यान्वयनमा कुनै अवरोध भए त्यसको समाधानका लागि कानुनी र संस्थागत व्यवस्थाहरू रहेको भन्दै उनले मन्त्रालयका तर्फबाट प्रेस स्वतन्त्रताको संरक्षणमा कुनै कसुर बाँकी नराख्ने र समस्याहरू भए संवाद र छलफलमार्फत समाधान गर्न सरकार सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे। पत्रकारितालाई लोकतन्त्रको चौथो अंगका रूपमा अर्थ्याउँदै उनले यसलाई अझ बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सरकार लागिपरेको बताए भने पत्रकारिता जगतले पनि आफ्नो गरिमा, विश्वसनीयता र सामाजिक दायित्व कायम राख्न जिम्मेवार अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

त्यस्तै, कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता रहेको औंल्याइन्। अब बन्ने संघीय सञ्चार कानुन कस्तो हुनुपर्छ, पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन कसरी गर्ने तथा पत्रकार स्वयंको व्यावसायिक उत्तरदायित्व कसरी सुदृढ बनाउने भन्ने विषय नै यस सम्मेलनको प्रमुख छलफलका एजेन्डा रहेको उनले जानकारी दिइन्।

ताजा समाचार