काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा आयोजना हुने त्रिदेशीय सिरिजमा भाग लिन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, र सचिव पारस खड्का लगायतका पदाधिकारीहरूले आइतबार एक कार्यक्रमका बीच खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्। आगामी जुलाई २१ तारिखदेखि सुरु हुने यस सिरिजमा नेपाल, आयोजक नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।
यसअघि नै क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय मुख्य टोलीको घोषणा गरिसकेको छ, जसको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी रहेका छन्। नेपाली टोलीमा लेग स्पिनर सन्दीप लामिछानेसहित कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख र सोमपाल कामी जस्ता अनुभवी खेलाडीहरू यथावत् छन्। यस्तै टोलीमा इशान पाण्डे, गुल्सन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारीले स्थान बनाएका छन्।
मुख्य टोलीका साथै क्यानले पाँच जना खेलाडीलाई वैकल्पिक सूचीमा समेत राखेको छ। वैकल्पिक खेलाडीहरूमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।



