काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर विषयमा सरकारको जवाफ आवश्यक रहेको भन्दै सो सम्बन्धी जानकारी सदनमा प्रस्तुत गर्न निर्देशन दिएका हुन्।
बैठकमा कर्णाली राजमार्गमा भएको हालैको सवारी दुर्घटना र उद्धारमा भएको ढिलाइलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए। सत्तारुढ रास्वपाका सांसद रमेश प्रसाईंले दुर्घटनाको समयमा भिरमा अड्किएका नागरिकको उद्धारमा लापरबाही भएको विषयमा प्रश्न उठाउँदै गृहमन्त्रीले रोस्ट्रममै उभिएर जवाफ दिनुपर्ने माग गरे।
सांसदहरूले कर्णाली राजमार्गको सुरक्षा र भावी दीर्घकालीन योजनाबारे प्रश्न गरेपछि सभामुख अर्यालले कर्णाली दुर्घटनाको विवरणका साथै मनसुनजन्य बाढी, पहिरो र डुबानको क्षति न्यूनीकरणका लागि भइरहेको विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई तत्काल अवगत गराउन नेपाल सरकारलाई निर्देश गरेका छन्।



