मेची सीमा क्षेत्रमा गृहमन्त्रीको स्थलगत अनुगमन

प्रकाशित मिति:

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ स्थलगत अनुगमनका लागि झापा पुगेका छन्। आइतबार साँझ झापा पुगेका उनले सोमबार बिहान जेन्जी आन्दोलनका घाइते अंकित शर्माको घरमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। बुद्धशान्ति गाउँपालिका–६ हापेन चोकका शर्मा जेन्जी आन्दोलनका क्रममा घाइते भएका थिए।

यसैबीच गृहमन्त्री गुरुङले नेपाल–भारत सीमास्थित पूर्वीद्वार मेची पुल र मेची भन्सार क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। अवलोकनका क्रममा उनले मेचीनगर नगरपालिका–८ जोरसिमलमा रहेको अस्थायी चेकपोस्टलाई तत्काल हटाउन निर्देशन दिए। सीमा सुरक्षामा खटिएका प्रहरीका लागि शौचालय समेत नरहेको भन्दै उनले अव्यवस्थित चेकपोस्ट हटाउन निर्देशन दिएका हुन्। गृहमन्त्री गुरुङले चेकपोस्टका लागि उपयुक्त स्थानमा जग्गा उपलब्ध गराइदिन मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीलाई अनुरोध गरे। नागरिकको सुरक्षामा खटिने प्रहरीको आफैँ बिजोग भएको भन्दै उनले व्यवस्थित चेकजाँच केन्द्रका लागि जमिन व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

उपप्रमुख उप्रेतीले आफ्नो कार्यकाल सकिन लागेको उल्लेख गर्दै सम्भव भएसम्म जमिनको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन्। अनुगमनका क्रममा गृहमन्त्री गुरुङले झापाका प्रहरी, स्थानीयवासी र व्यवसायीसँग यस क्षेत्रका समस्याबारे छलफल गरे। उनले लामो समयदेखि हात्ती पीडित क्षेत्रको रूपमा रहेको मेचीनगर बाहुण्डाँगीको समेत समस्या पहिचानका लागि स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ। अनुगमनमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी प्रमुख बसुन्धरा खड्का लगायतको उपस्थिति थियो।

ताजा समाचार