काठमाडौं । वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र गुणस्तरीय सार्वजनिक सेवा प्रवाह रहेको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन्। एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डासँग आज भएको भेटवार्तामा प्रधानमन्त्री शाहले उक्त कुरा बताएका हुन्।
भेटका क्रममा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभावकारिता बढाउने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक विकास गर्ने, ऊर्जा क्षेत्रलाई तीव्रता दिने तथा पूर्वाधारको आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई अघि बढाउने नेपालको योजनाबारे अध्यक्ष कान्डालाई जानकारी गराए। उनले मुलुकमा स्थिर नीतिगत वातावरण र सुदृढ संस्थाहरू हुनु नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी विकास हासिल गर्ने मुख्य आधार भएको उल्लेख गरे।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपाल र एडिबीबीचको साझेदारीलाई थप बलियो बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो। नेपालमा जलविद्युत्को ठूलो सम्भावना रहेकाले एडिबीको ऊर्जा रणनीतिअन्तर्गत स्वच्छ ऊर्जा उत्पादनमा सहकार्य गर्ने विषयलाई जोड दिइएको छ। सो क्रममा प्रधानमन्त्री शाहले एडिबीको सहयोगमा निर्माण हुन लागेको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको दीर्घकालीन ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको भन्दै यसको वित्तीय व्यवस्थापन प्रक्रिया छिट्टै सुरु गरिदिन आग्रह गरे।
बैठकमा एडिबीको ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी’अन्तर्गत ऊर्जा, कनेक्टिभिटी, सहरी विकास र डिजिटल पूर्वाधारका क्षेत्रमा थप सहकार्य गर्नेबारे संवाद भएको थियो। प्रधानमन्त्री शाहले विगत पाँच दशकभन्दा बढी समयदेखि नेपालको विकासमा एडिबीले पुर्याएको निरन्तर सहयोगप्रति आभार प्रकट गरे। हाल नेपालमा एडिबीको सक्रिय खुद पोर्टफोलियो करिब चार अर्ब २० करोड अमेरिकी डलर बराबर रहेको छ, जसअन्तर्गत ३१ वटा आयोजनाहरू सञ्चालनमा छन्। साथै, सन् २०२६ मा ‘पोलिसी बेस्ड लेन्डिङ’ अन्तर्गत १५ करोड अमेरिकी डलरको सहायता कार्यक्रम तय भएको छ।
भेटका अवसरमा एडिबीका अध्यक्ष कान्डाले नेपाललाई दिइँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। नेपालको डिजिटल अर्थतन्त्रले आर्थिक वृद्धि र रोजगारीमा नयाँ आधार तयार पार्दै गइरहेकोमा सन्तोष व्यक्त गर्दै अध्यक्ष कान्डाले डिजिटल सार्वजनिक पूर्वाधार सुदृढीकरणमा बैंकले सधैं साथ दिने स्पष्ट पारे।



