संसद्‌मा ज्ञानेन्द्र शाहीको प्रश्न: गृहमन्त्री हौ कि ‘कन्टेन्ट क्रिएटर’ ?

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै संसद्‌मा आक्रोश पोखेका छन्। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता शाहीले गृहमन्त्रीले आफ्नो पदीय जिम्मेवारी बिर्सिएर प्रचार र सामाजिक सञ्जालको ‘कन्टेन्ट क्रिएटर’ जस्तो भूमिका देखाएको टिप्पणी गरे। गणेश नेपालीको मृत्यु प्रकरणलाई मुख्य एजेन्डा बनाउँदै उनले गृहमन्त्री मिडिया र क्यामराको घेरामा मात्रै रमाइरहेको आरोप लगाए। चलचित्रको नायक जस्तै कहिले विमानस्थल त कहिले अन्य क्षेत्रमा क्यामरा टोली नै बोकेर दौडिने गृहमन्त्रीको ध्यान साँच्चिकै जनताको स्वास्थ्य र उपचारमा केन्द्रित भइदिएको भए आज एक नागरिकले अकालमा ज्यान गुमाउनु नपर्ने जिकिर उनले गरे।

संसद्‌मा बोल्दै नेता शाहीले गृहमन्त्रीको लोकप्रियतावादी प्रवृत्तिको आलोचना गरे। सामाजिक सञ्जालमा कति प्रचार भयो वा कति सामग्री उत्पादित भए भन्ने कुरा भन्दा पनि गृहमन्त्रीको निर्देशन र तत्परताले सर्वसाधारणको ज्यान जोगियो कि जोगिएन भन्ने कुरा मुख्य हुने उनको भनाइ थियो। सुर्खेत वा अन्य दुर्गम क्षेत्रबाट बेलैमा एयर एम्बुलेन्सको व्यवस्था गरी सुविधा सम्पन्न अस्पताल पुर्‍याइएको भए वा विमानस्थलमा आफैँ दौडिनुको सट्टा जहाजको प्रबन्ध गरेर बिरामीलाई दिल्ली पठाउन गृह मन्त्रालय अक्षम नरहेको भन्दै उनले सरकारी उदासिनताको कडा आलोचना गरे। वर्तमान सरकारले जनपक्षीय काम गर्नुको सट्टा नागरिकको दैनिक जीवनलाई थप कष्टकर बनाउँदै लगेको उनले दाबी गरे।

नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सरकारको चुनावी नारा र व्यवहार मेल नखाएको टिप्पणी गर्दै नेता शाहीले वर्तमान सत्ताले गरिब र विपन्न वर्गलाई संरक्षण दिन नसकेको आरोप लगाए। सरकारले ‘गरिबको चमेली’ जस्ता आकर्षक नारा बाँडे पनि व्यवहारमा भने दुःखी जनतामाथि करको भार थपेर बिचल्लीमा पारेको उनले उल्लेख गरे। प्रतिपक्षी बेन्चबाट बोल्दै उनले सरकारलाई जनआवाज दबाउन बन्द गर्न र नागरिकको पीडा सुन्न आग्रह गर्दै करको बोझ घटाएर गरिब जनताको आँसु पुछ्ने काममा लाग्न सरकारको ध्यानाकर्षण गराए।

ताजा समाचार