त्रिपुरेश्वर आत्मदाह घटनाबारे संसद्मा सरकारको ध्यानाकर्षण: पीडित परिवारलाई भेट्न नदिएकोमा आक्रोश

प्रकाशित मिति:

काठमाडौं । मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेको दुःखद् घटनालाई लिएर प्रतिनिधि सभामा सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले राज्यको उदासीनताका कारण नागरिकले यस्तो कठोर बाटो रोज्नुपर्ने स्थिति आएको भन्दै आपत्ति जनाए।

बैठकमा सांसद खड्कबहादुर शाहीले नेपालीले आत्मदाहको बाटो रोज्नु अत्यन्तै दुःखद् भएको बताए। यस्तै, सांसद वर्षामान पुनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै रोल्पामा भएका पछिल्ला सवारी दुर्घटनाका सम्बन्धमा समेत सरकारको ध्यानाकर्षण गराए।

सांसदहरू आशिका तामाङ, यशोदाकुमारी बराल र शाहजान खातुनले नागरिकले आत्मदाह गर्ने परिस्थितिसम्म पुग्दा पनि राज्य संयन्त्रले उनीहरूको गुनासो र पीडा नसुनिएको भन्दै आक्रोश व्यक्त गरे। अर्का सांसद ऐन महरले आत्मदाहको प्रयासपछि वीर अस्पतालमा उपचारका क्रममा निधन भएका नेपालीका परिवारका सदस्यलाई अस्पताल प्रशासनले भेट्न समेत नदिएको गम्भीर आरोप लगाए।

यसैगरी, सोही बैठकमा सांसद गीता गुरुङले सुकुम्बासी बस्तीबाट विस्थापित गरिएका नागरिकहरू अलपत्र परेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल व्यवस्थापन गर्न माग गरिन्।

ताजा समाचार