काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणमा उनको परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ। जाहेरी दर्ताका लागि मृतकका परिवार काठमाडौँको कालीमाटी प्रहरी वृत्त पुगेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार जाहेरी दर्ता भएसँगै कानूनी प्रक्रिया अघि बढ्नेछ र शव परीक्षणपछि सद्गतका लागि परिवारलाई बुझाइनेछ। काठमाडौँ महानगर प्रहरीले राहदानी विभाग अगाडि नेपालीको मोटरसाइकलमा ह्विल लक लगाएपछि उत्पन्न विवादमा उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
यसअघि आइतबार मृतकका परिवार र प्रशासनबीच नौ बुँदे सहमति भइसकेको छ। घटनाको अनुसन्धानका लागि प्रहरीले महानगर प्रहरी र प्रत्यक्षदर्शीसँग सोधपुछ गरेको छ भने डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ।



