काठमाडौं । देशमा लोडसेडिङको कुनै तालिका सार्वजनिक नगरिए पनि छिनछिनमा विद्युत अवरुद्ध हुने र ट्रिपिङ हुने समस्याका कारण देशभरका उपभोक्ता मारमा परेका छन्। पूर्वदेखि पश्चिम तराईका ग्रामीण तथा सहरी क्षेत्रमा बिना सूचना बिजुली काटिँदा सर्वसाधारण, उद्योगी र किसानले सास्ती खेप्नुपरेको छ।
अत्यधिक गर्मीका बेला बारम्बार लाइन जाँदा र लो-भोल्टेजका कारण विद्युतीय उपकरणहरू बिग्रिन थालेका छन्। बाँके, रूपन्देही, कञ्चनपुर, बर्दिया, वीरगन्ज र सुनसरी–मोरङ औद्योगिक करिडोरमा यो समस्या अझै चरम बनेको छ।
बाँकेमा अनियमित आपूर्तिले खानेपानी, इन्टरनेट र साना उद्योग प्रभावित भएका छन्। उपभोक्ता अधिकारकर्मी र नागरिक समाजले नेपालगन्ज वितरण केन्द्रको ध्यानाकर्षण गराए पनि अवस्था सुध्रिएको छैन। यता रूपन्देहीको मर्चवार र भैरहवा क्षेत्रका बासिन्दाले पनि कम भोल्टेज र ट्रिपिङका कारण सास्ती पाएको भन्दै प्राधिकरणमा ज्ञापनपत्र बुझाएका छन्। गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाहरू समेत आत्तिने गरेका छन्।
यस्तै, वीरगन्ज क्षेत्रमा ट्रान्सफर्मरमा क्षमताभन्दा बढी लोड भएकाले एमसीबी ट्रिप हुने गरेको प्राधिकरणको दाबी छ। तर, रातिको समयमा समेत पटक-पटक बत्ती काटिँदा सर्वसाधारणको निद्रा बिथोलिएको छ। उता कोशी प्रदेशको सुनसरी-मोरङ औद्योगिक करिडोरमा दैनिक १० देखि १२ पटकसम्म हुने ट्रिपिङले कच्चा पदार्थ नष्ट भई उद्योगहरूले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको उद्योग संगठन मोरङले जनाएको छ।
बिजुलीको यो समस्याले खेतीपातीको समयमा किसानहरू सबैभन्दा बढी मर्कामा परेका छन्। कञ्चनपुर र बर्दियाका किसानहरूले लो-भोल्टेज तथा पटक-पटक लाइन काटिने समस्याका कारण सिँचाइका लागि जडान गरिएका मोटर र बोरिङ चलाउन नसकिएको गुनासो गरेका छन्।
नेपाल विद्युत प्राधिकरणका विभिन्न वितरण केन्द्रका प्रमुखहरूले भने गर्मीमा ओभरलोडिङ, प्राविधिक गडबडी, पुराना संरचना र मर्मतसम्भारका कारण सिस्टम फेल हुने गरेको दाबी गरेका छन्। केही दिनअघि मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालका विभिन्न जिल्लाको स्थलगत अनुगमन गर्दै आगामी आर्थिक वर्षमा वितरण प्रणाली सुधारका लागि बजेट विनियोजन गर्ने आश्वासन दिनुभएको थियो। तर, तत्कालका लागि भने उपभोक्ताहरू रातभर बत्ती कुरेर बस्न बाध्य छन्।



