काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई आतङ्कित पारिएको भन्दै नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले एक विज्ञप्ति जारी गर्दै यो कार्यले लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार गरेको बताए।
आज बिहानैदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेर्स्याएर आवागमनमा अवरोध सिर्जना गरिएको थियो।
प्रचार विभाग प्रमुख आचार्यले स्वतन्त्र रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सञ्चार गृह र पत्रकारलाई भयभीत बनाउने यो निन्दनीय कार्यको भर्त्सना गरे। साथै, यस घटनालाई लिएर नेपाल पत्रकार महासङ्घले अघि सारेका मागहरूमा एमालेको पूर्ण समर्थन रहेको उनले स्पष्ट पारे।



