काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लडेर हात भाँच्चिएको भन्ने हल्ला आधारहीन र भ्रामक भएको उनको सचिवालयले जनाएको छ। सचिवालयले एक विज्ञप्ति जारी गर्दै देउवा लडेर हात भाँच्चिएको आशयका अपुष्ट, आधारहीन तथा भ्रामक समाचार फैलाइएको भन्दै आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको स्पष्ट पार्न चाहन्छौँ। सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ। कुनै पनि आधिकारिक पुष्टि बिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो।’
सचिवालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणमा कुनै पनि सूचना वा समाचार साझा गर्नु अघि त्यसको सत्यता आधिकारिक स्रोतबाट पुष्टि गर्न अनुरोध गरेको छ। तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सूचना प्रवाह गर्न तथा अफवाह र भ्रम फैलाउने कार्यबाट टाढा रहन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।
यसैबिच, कांग्रेस नेता मीनबहादुर विश्वकर्माले पनि पूर्वसभापति देउवाको हात भाँच्चिएको भन्ने हल्लामा कुनै सत्यता नभएको जिकिर गरेका छन्। उनले देउवाको स्वास्थ्य अवस्था पहिलाको भन्दा राम्रो रहेको स्पष्ट पारेका छन्।



