भारतीय सेनाध्यक्षलाई मानार्थ दिने वर्षौँ पुरानो परम्परा तोड्दै बालेन

प्रकाशित मिति:

काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले हिजो मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। शीतलनिवासमा आयोजित उक्त समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह भने सहभागी भएनन्।

नेपाल र भारतका सेना प्रमुखहरूलाई एक-अर्को देशले बोलाएर मानार्थ दर्जा प्रदान गर्ने पुरानो प्रचलन रहँदै आएको छ। नेपालले भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथी’ को पदवी दिन्छ भने भारतले नेपालका सेनापतिलाई ‘मानार्थ जनरल’ भनेर दिन्छ। यो प्रचलन सन् १९५० देखि नै चल्दै आएको हो। पहिलो पटक भारतीय सेनाका तत्कालीन प्रमुख जनरल के.एम. करियप्पालाई नेपाली सेनाको मानार्थ जनरल/महारथीको दर्जा दिइएको थियो। यो भारत-नेपाल शान्ति तथा मैत्री सन्धि (जुलाई १९५०) को सन्दर्भमा भएको थियो। यसले कुनै कमाण्ड वा अधिकार दिँदैन, यो केवल सम्मान वा शिष्टाचारका रूपमा रहेको छ।

नेपालका सेनापति अशोकराज सिग्देललाई पनि भारतीय पक्षले मानार्थ जनरल बनाएको छ। डिसेम्बर १२, २०२४ मा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा विशेष समारोहमा उनलाई भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेकी थिइन्।

नेपालमा भारतीय सेनाध्यक्षलाई मानार्थ दिने समारोहमा प्रधानमन्त्रीसमेत उपस्थित हुने अभ्यास थियो। भारतले नेपालका सेनापतिलाई मानार्थ प्रदान गर्ने कार्यक्रममा त्यहाँका रक्षामन्त्री मात्रै उपस्थित हुन्छन्। प्रधानसेनापति सिग्देललाई मानार्थ दिइँदा रक्षामन्त्री पनि नआएर रक्षा राज्यमन्त्री सञ्जय सेठ मात्रै उपस्थित थिए। नेपालमा अहिले रक्षामन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शाह आफैँले सम्हालेका छन्। समारोहमा रक्षामन्त्रीको साटो परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित भएका थिए। प्रधानमन्त्री समारोहमा नआएकोप्रति भारतीय पक्ष ‘नाराज’ बनेको बुझिएको छ।

नेपाली सेनाले यस विषयमा कुनै पनि टिप्पणी गर्न चाहेन। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले राष्ट्रपति कार्यालयको कार्यक्रम भएकाले आफूहरूलाई जानकारी नहुने बताए। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मानार्थ समारोह भएकाले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य नरहेको प्रतिक्रिया दिए। उनले भने, ‘हाम्रो तर्फबाट निमन्त्रणा त गरिएको हुन्छ। तर यो औपचारिक कार्यक्रम नभएर एउटा मानार्थ समारोह मात्रै हो। भारतमा पनि नेपालका सेनाप्रमुखलाई मानार्थ दिइँदा प्रधानमन्त्री उपस्थित भएको देखिँदैन। त्यसैले अन्यथा लिनुपर्ने आवश्यकता छैन।’

यद्यपि भारतीय सेनाध्यक्षसँग प्रधानमन्त्री शाहले आज भेट्दैछन्। आज दिउँसो सिंहदरबारमा भेटवार्ता हुने प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।

ताजा समाचार