रसुवामा वैकल्पिक मार्गमार्फत स्याफ्रुबेँसीसम्म पहुँच जोडियो : चिलिमेको सुरुङभित्र खोजी तीव्र

प्रकाशित मिति:

धुन्चे। रसुवाको भोटेकोशी हिमबाढीले नेपाल–चीन सीमा जोड्ने पासाङ ल्हामु मार्ग क्षतविक्षत बनाएपछि नेपाली सेनाको टोलीले वैकल्पिक मार्गमार्फत स्याफ्रुबेँसीसम्मको पहुँच विस्तार गरेको छ। सेनाको इन्जिनियरिङ टोलीले क्षतिग्रस्त चिलिमे जलविद्युत् आयोजनासम्म भारी उपकरण लैजान सकिने गरी पहुँचमार्ग तयार पारेको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नुवाकोटदेखि रसुवा सदरमुकाम धुन्चेसम्म वैकल्पिक सडक आंशिक रूपमा सञ्चालनमा आएको छ। धुन्चेदेखि स्याफ्रुबेँसीसम्मको अवरुद्ध खण्ड खुलाउँदै थप उपकरण लैजाने र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइनमार्फत आवतजावत गराउने तयारी भइरहेको उनले जानकारी दिए।

यस्तै, नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार स्याफ्रुबेँसीदेखि चिलिमे आयोजनासम्म करिब एक हजार ५० मिटर पहुँचमार्ग निर्माण सम्पन्न भएको छ। चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धार कार्यलाई सहज बनाउन ६ मिटर लम्बाइका चार वटा ठुला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटो बनाउने काम भइरहेको छ। सुरुङभित्र एक्साभेटर प्रयोग गरेर करिब ६५ मिटर लेदो हटाइसकिएको र थप खोजी जारी रहेको सेनाले जनाएको छ।

यसैबिच, रसुवागढी जलविद्युत् आयोजनामा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोजी जारी राखेको छ। लाङटाङ जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा खोजी गर्दा हालसम्म केही फेला परेको छैन। माथिल्लो त्रिशूली–१ को हाकुबेँसीस्थित अडिट–३, त्रिशूली थ्री ‘ए’ को पावरहाउस तथा सुरुङ र त्रिशूली थ्री ‘बी’ आयोजनामा समेत उत्खनन र खोजी कार्य जारी रहेको सेनाले स्पष्ट पारेको छ।

ताजा समाचार