सडकमा हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्ने अवस्था अन्त्य हुनुपर्छ : प्रहरी महानिरीक्षक कार्की

प्रकाशित मिति:

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै सडकमा हात हल्लाएर सवारीसाधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्। काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्राफिक प्रहरीलाई सडकको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनुपर्नेमा जोड दिए।

महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक बनाउन एआई (कृत्रिम बौद्धिकता) क्षमताका सीसीटीभी क्यामरा जडान तथा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताए। प्रविधिको विस्तारसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र सडक प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ।

प्रहरी र स्थानीय तहबिच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै उनले देशका ७५३ वटै स्थानीय तहसँग समन्वयका लागि गृह, भूमि व्यवस्था र सङ्घीय मामिला मन्त्रालयमार्फत पत्राचार भइरहेको जानकारी दिए। स्थानीय तहहरूलाई आवश्यकताअनुसार प्रहरी कार्यालय निर्माण, मर्मत, जग्गा, सवारीसाधन, विपद् उद्धारका सामग्री तथा सीसीटीभी जडानमा सहकार्य गर्न उनले आग्रह गरे।

महानगरपालिकाले नागरिकलाई सफा सडक र अवरोधमुक्त फुटपाथ उपलब्ध गराउन गरिरहेको कार्यको प्रशंसा गर्दै उनले पहिलेको जस्तो असरल्ल फोहोरको थुप्रो देखिन छाडेको बताए। आगामी दिनमा फुटपाथ, पार्किङ तथा आपत्कालीन प्रतिकार्य प्रणाली (इमर्जेन्सी रेस्पोन्स सिस्टम) लाई थप प्रभावकारी बनाउन महानगरसँग सहकार्य जारी रहने उनले स्पष्ट पारे।

ताजा समाचार