महेन्द्रनगर। सर्पको टोकाइपछि उपचारका लागि महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–१०, सुकासालकी ३३ वर्षीया सङ्गीता बडूको उपचारका क्रममा मृत्यु भएको दुई दिन बितिसक्दा पनि परिवारले शव बुझ्न अस्वीकार गरेको छ। अस्पतालको उपचारमा गम्भीर लापरबाही भएको आरोप लगाउँदै परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग अघि सारेको हो।
गत भदौ ५ गते हातमा सर्पले टोकेपछि बडूलाई आकस्मिक कक्षमा भर्ना गरिएको थियो। अवस्था बिग्रँदै गएपछि उनलाई आईसीयू हुँदै भेन्टिलेटरमा राखिएको थियो। २१ दिन लामो उपचारपछि शुक्रबार राति उनको मृत्यु भएको थियो। मृतककी आमा मञ्जुदेवी बडूले आकस्मिक कक्षमा ल्याउँदादेखि नै उपचारमा ढिलाइ गरिएको, अनकलमा रहेका विशेषज्ञ चिकित्सकलाई समयमै नबोलाइएको र अन्यत्र रेफर गर्नसमेत आनाकानी गरिएको आरोप लगाएकी छन्।
यता, उपचारमा संलग्न मेडिकल अधिकृत सन्तोष चौधरीले भने तोकिएको विधिअनुसार नै उपचार र रेफर प्रक्रिया अघि बढाएको दाबी गरेका छन्। उनले बिरामीको अवस्थाबारे सिनियर चिकित्सक टेकनारायण श्रेष्ठलाई निरन्तर जानकारी गराइएको बताए।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले परिवारबाट लिखित निवेदन प्राप्त हुनासाथ छानबिन समिति गठन गरिने बताए। उपचारमा लापरबाही भएको पाइए जोकोहीलाई कानुनी दायरामा ल्याइने उनको भनाइ छ। यता परिवारले भने छानबिनको सुनिश्चितता र दोषीमाथि कारबाहीको टुङ्गो नलागेसम्म शव नउठाउने अडान कायमै राखेको छ।




