बैतडी। बैतडीको पुर्चौडी नगरपालिका–८, लामुनी गैरमा भीषण पहिरो खस्दा एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आसपासका थप १० घर जोखिममा परेका छन्।
गएराति बस्तीमाथिबाट आएको ठुलो पहिरोले स्थानीय गणेशदत्त जोशीको घर पूर्ण रूपमा पुरेको हो। पहिरोले घर पुरिएपछि भित्र रहेका १३ वटा बाख्रामध्ये १० वटाको जीवितै उद्धार गरिएको छ भने बाँकी तीन वटा बाख्राको खोजी भइरहेको स्थानीयले जनाएका छन्। पहिरोको जोखिम बढेपछि नजिकै रहेका अन्य १० परिवारसमेत त्रासमा छन्।
घटनालगत्तै स्थानीय बासिन्दा, वडा जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ। पहिरो प्रभावित क्षेत्रमा थप क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सुरक्षित र सतर्क रहन प्रशासनले आग्रह गरेको छ। घटनास्थलमा उद्धारका साथै क्षतिको विस्तृत विवरण सङ्कलनको कार्य जारी रहेको छ।




