धनगढी। भोटेकोशी बाढीका कारण सम्पर्कविहीन बनेका सुदूरपश्चिम प्रदेशका नागरिकमध्ये ७१ जना सम्पर्कमा आएका छन् भने १४३ जना अझै सम्पर्कविहीन छन्। बाढीमा परी बैतडीका एक जनाको भने मृत्यु भएको पुष्टि भएको छ।
प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको अभिलेखअनुसार गत भदौ १० गतेको बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँलगायतका जिल्लामा कार्यरत सुदूरपश्चिमका नागरिक सम्पर्कविहीन भएको भन्दै आफन्तले खोजबिनका लागि निवेदन दिएका थिए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् शाखाका प्रमुख जनक धामीका अनुसार हालसम्म सम्पर्कमा आएकामा ११ महिला र ६० पुरुष छन्। सम्पर्कविहीन १४३ जनामा १३ महिला र १३० पुरुष छन्।
जिल्लागत रूपमा सबैभन्दा बढी प्रभावित कैलालीका ६७ जना अझै सम्पर्कविहीन छन् भने ५३ जना सम्पर्कमा आइसकेका छन्। यसैगरी कञ्चनपुरका २६, डडेल्धुराका १७, बाजुराका १६, बैतडीका सात, दार्चुलाका चार, डोटी, बझाङ र अछामका दुई/दुई जना सम्पर्कविहीन छन्। कञ्चनपुरका ११, डडेल्धुराका छ र डोटीका एक जना सम्पर्कमा आएका छन्। बाढीमा ज्यान गुमाएका बैतडीका एक जनाको शव परिवारले बुझेर अन्त्येष्टि गरिसकेको केन्द्रले जनाएको छ। सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन परिवारजनले आग्रह गरेका छन्।




