काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको र त्यसपछि आयोगको टोलीलाई अनुगमनमा रोक लगाएको विषयमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ।
प्रहरी प्रधान कार्यालयमार्फत एसएसपी खड्कालाई मङ्गलबार आयोगमा उपस्थित हुन पत्राचार गरिएको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए। उनका अनुसार आइतबार पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेको सन्दर्भमा आयोगको अनुगमन टोलीलाई प्रहरीले अनुगमन गर्न नदिएको विषयमा छलफल तथा सोधपुछका लागि उनलाई डाकिएको हो।
आइतबार जबरा पक्राउ परेलगत्तै उनको मानव अधिकारको अवस्था अनुगमन गर्न आयोगको टोली काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको थियो। तर प्रहरीले करिब एक घण्टासम्म कुराएर टोलीलाई गेटबाटै फर्काएको थियो। संवैधानिक आयोगको अनुगमन अधिकारमाथि हस्तक्षेप भएको भन्दै आयोगले आइतबार नै प्रेस विज्ञप्ति जारी गरी कडा आपत्ति जनाइसकेको थियो। सोही घटनाको थप स्पष्टीकरण लिन आयोगले कार्यालय प्रमुख खड्कालाई झिकाएको हो।




