कञ्चनपुरका प्रहरी कार्यालय र सीमानाकाको एसएसपी विष्टद्वारा अनुगमन

प्रकाशित मिति:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले कञ्चनपुरका विभिन्न इलाका प्रहरी कार्यालय तथा सीमानाकाहरूको स्थलगत अनुगमन एवं निरीक्षण गरेका छन्।

एसएसपी विष्टले सोमबार जिल्लाका सीमावर्ती क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय बेलौरी, बेलडाँडी र त्रिभुवनबस्तीको अनुगमन गर्दै त्यहाँ कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशन दिएका हुन्।

अनुगमनका क्रममा उनले नेपालीहरूको महान् चाड विजयादशमी तथा दीपावलीलाई लक्षित गरी सीमानाकाबाट हुन सक्ने भन्सार छली, अवैध चोरी–पैठारी तथा लागूऔषध ओसारपसार र कारोबार नियन्त्रणमा थप कडाइ गर्न निर्देशन दिए। साथै, चाडपर्वको समयमा हुन सक्ने जुवातास नियन्त्रण तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनसमेत उनले प्रहरी कर्मचारीलाई सचेत गराए।

प्रहरी आचरण तथा व्यावसायिक मर्यादाअनुसार जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै विष्टले नागरिकमैत्री सेवा प्रवाहमा जोड दिए। प्रहरी सेवामा अल्पसङ्ख्यक तथा सीमान्तकृत वर्गको सहज पहुँच सुनिश्चित गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। यसका साथै स्थानीय तह तथा आम नागरिकसँग प्रभावकारी समन्वय गरी शान्ति सुरक्षालाई थप मजबुत र भरपर्दो बनाउन उनले निर्देशन दिए।

ताजा समाचार