काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) को ध्वजावाहक एयरलाइन्स फ्लाई दुबईको नियमित उडानका क्रममा विमानको ककपिटभित्रै एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेको घटना सार्वजनिक भएको छ।
बुधबार दुबईबाट इजरायलको तेल अभिवका लागि उडान भरेको करिब दुई घण्टापछि ककपिटभित्रै सहकर्मीबाट भएको चक्कु प्रहारमा परी भारतीय नागरिक पाइलट स्मित मच्छर गम्भीर घाइते भएका हुन्। अप्रत्याशित हिंसात्मक घटनापछि विमानलाई तत्कालै मार्ग परिवर्तन गरी साउदी अरबतर्फ मोडिएको थियो र उत्तर–पश्चिमी साउदीको ताबुक विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो।
घाइते पाइलट मच्छरको ताबुकस्थित अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको साउदी अरबस्थित भारतीय दूतावासले पुष्टि गरेको छ। दूतावासले सामाजिक सञ्जालमार्फत उनको अवस्था निरन्तर अनुगमन गरिरहेको र परिवारसँग सम्पर्कमा रहेको जानकारी दिएको छ। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विषम परिस्थितिमा पनि विमानलाई दुर्घटनाबाट जोगाएको भन्दै घाइते पाइलट मच्छरको साहसिक कदमको प्रशंसा गर्दै उनलाई ‘हिरो’ को संज्ञा दिएका छन्।
अत्यन्त संवेदनशील मानिने ककपिटभित्र धारिलो हतियार कसरी पुग्यो र आक्रमणको मुख्य उद्देश्य के थियो भन्ने विषयमा सम्बन्धित अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा निकायहरूले गम्भीर अनुसन्धान सुरु गरेका छन्।




