कञ्चनपुर। काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेसन र सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना हुने भएको छ। ‘प्रोभिन्सियल टिचर्स कन्फरेन्स–सुदूरपश्चिम’ नाम दिइएको उक्त एकदिने सम्मेलन आगामी असोज १७ गते सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ।

शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग तथा समसामयिक शैक्षिक चुनौतीबारे गहन विमर्श गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलनमा प्रारम्भिक बाल विकास (ईसीडी) देखि विश्वविद्यालय तहसम्म अध्यापन गराउने शिक्षक, प्राध्यापक, शिक्षाविद् तथा अनुसन्धाताहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनमा मुख्य वक्ताका रूपमा प्राध्यापक डा. बालचन्द्र लुइँटेल र डा. मदन सिंह देउपा रहनेछन् भने सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक डा. भवानी चन्द प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

एकदिने सम्मेलन अवधिभर मुख्य मन्तव्यका साथै २५ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुति र विषयगत कार्यशाला सञ्चालन गरिनेछ। कार्यपत्रहरूमा शिक्षणमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, प्रारम्भिक बाल विकास, परीक्षारहित मूल्याङ्कन, समावेशी शिक्षण पद्धति, शिक्षक–विद्यार्थीको मानसिक कल्याण तथा समग्र विद्यालय रूपान्तरणजस्ता समसामयिक विषय समेटिएका छन्।
कार्यशाला तथा प्रस्तुतीकरणमार्फत शिक्षकहरूबीच सिकाइ अनुभव, व्यावहारिक सीप र नवीन अभ्यासहरू आदानप्रदान गरिनेछ। सम्मेलनलाई पाँच सहयोगी र १२ सहायक साझेदार संस्थाहरूले सहकार्य गरेका छन्। करिब सात लाख रुपैयाँ लागत अनुमान गरिएको यस सम्मेलनले सुदूरपश्चिम प्रदेशको शैक्षिक रूपान्तरण र नीतिगत सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





