प्रहरीको नेतृत्व आदेशमा होइन उदाहरणमा देखिनुपर्छ : आइजिपी कार्की

प्रकाशित मिति:
spot_img

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनताप्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताउनुभएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा सोमबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम (१–१८४औँ समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र अधिकारको दुरुपयोगले सिङ्गो सङ्गठन नै बदनाम हुने भएकाले सचेत रहन आग्रह गर्नुभयो।

प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणमा देखिनुपर्ने उल्लेख गर्दै महानिरीक्षक कार्कीले सेवाग्राहीप्रतिको व्यवहार, अनुसन्धानको गुणस्तर र अनुशासनले नै प्रहरीको वास्तविक पहिचान बनाउने बताउनुभयो। उहाँले भय, प्रलोभन र द्वेषभावबाट मुक्त भई पदीय मर्यादा, व्यावसायिक निष्ठा र इमानदारिता कायम राख्न निर्देशन दिनुभयो।

प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा सर्वोत्कृष्ट प्रशिक्षार्थी चोपबहादुर डेँगालाई ‘कुलानन्द विद्या पुरस्कार’ प्रदान गरिएको थियो। यस्तै मुख्यसचिव गोविन्दबहादुर कार्कीले उत्कृष्ट प्रशिक्षार्थीहरू गोपाल राई, रामकुमार जिटी, विकासकुमार धामी, विशाल पौडेल र बालकृष्ण पोख्रेललाई विभिन्न विधाका पुरस्कार वितरण गर्नुभयो। प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले शपथ खुवाउनुभएको सो समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित हुनुभएको छ।

ताजा समाचार