बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ नयाँ दिल्ली प्रस्थान

प्रकाशित मिति:
spot_img

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको कार्यभार सम्हालेपछिको यो उहाँको पहिलो औपचारिक वैदेशिक भ्रमण हो।

असोज २७ गते नयाँ दिल्लीमा आयोजना हुने बैठकमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्यान्डका गृहमन्त्री तथा आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरूको सहभागिता रहने गृह मन्त्रालयले जनाएको छ। बैठकमा लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, साइबर अपराध, सम्पत्ति शुद्धीकरण, आतङ्कवाद नियन्त्रण तथा विपद् व्यवस्थापनलगायतका साझा क्षेत्रीय सुरक्षा चुनौती र सहकार्यबारे छलफल भई संयुक्त घोषणापत्र जारी गरिनेछ।

बैठकलाई सम्बोधन गर्दै नेपालका तर्फबाट जलवायु परिवर्तनजन्य प्राकृतिक विपद् न्यूनीकरण, पूर्वसूचना प्रणालीको विकास तथा एकीकृत खोज, उद्धार र राहतमा क्षेत्रीय सहकार्य बढाउने विषयलाई विशेष प्राथमिकताका साथ उठाइनेछ। सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले परिकल्पना गरेबमोजिम यो संयन्त्रको पहिलो बैठक भारतमा हुन लागेको हो। भ्रमणका क्रममा भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरी गृहमन्त्री गुरुङ यही असोज २८ गते बुधबार स्वदेश फर्कने तालिका रहेको छ।

ताजा समाचार