काठमाडौं । नेपाल प्रहरीले दसैँ, तिहार तथा छठलगायतका मुख्य चाडपर्वलाई लक्षित गरी देशभर ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेर विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा नागरिकको जनधन, धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता र अधिकारको संरक्षण गर्न योजनाबद्ध रूपमा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार काठमाडौँ उपत्यकासहित सातवटै प्रदेशमा गरी ५० हजार ४५८ प्रहरी जनशक्ति परिचालन गरिएको छ। जसअनुसार काठमाडौँ उपत्यकामा सात हजार ६६८, कोशीमा आठ हजार १३३, मधेशमा सात हजार २३०, बागमतीमा चार हजार ४९९, गण्डकीमा पाँच हजार १८८, लुम्बिनीमा सात हजार ९२१, कर्णालीमा पाँच हजार ३१४ र सुदूरपश्चिम प्रदेशमा चार हजार ५०५ सुरक्षाकर्मी खटाइएका छन्।
चाडपर्वका बेला चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, नक्कली नोटको कारोबार र सीमानाकाबाट हुने तस्करी नियन्त्रण गर्न विशेष निगरानी बढाइएको छ। यस्तै राजमार्ग तथा यात्रु सुरक्षाका लागि देशभरका ४०८ स्थानमा यात्रु सहायता कक्ष र सीमानाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ। सुरक्षा निगरानीका लागि सीसीटीभी, ड्रोन, बडीवर्न क्यामेरा, तालिमप्राप्त कुकुर तथा डिजिटल निगरानी प्रणाली प्रयोग गरिने प्रहरीले जनाएको छ।





