काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ कमजोर बन्दै गए पनि यसको आंशिक प्रभावका कारण आज कात्तिक १२ देखि १४ गतेसम्म नेपालमा वर्षा र हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यो चक्रवात बुधबार बिहान भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो। त्यसपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कमजोर भएको यो प्रणाली थप कमजोर भएर गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुने अनुमान गरिएको छ।
यसको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा पनि वर्षा, असिना र हिमपातको आकलन गरिएको छ। केही ठाउँमा भारी वर्षा तथा हिमपातको जोखिम रहेको छ।
मौसमविद्हरूका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको सम्भावना रहेको छ। मौसमी परिवर्तनका कारण चिसो बढ्ने तथा पहिरो गई सडक र हवाई यातायातमा अवरोध पुग्न सक्ने चेतावनी दिइएको छ। महाशाखाले किसानलाई धानबाली सुरक्षित राख्न, पर्यटकलाई उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न र सर्वसाधारणलाई आधिकारिक मौसम सूचना नियमित हेर्न आग्रह गरेको छ।






