विराटनगर । परिवारले काजकिरिया सम्पन्न गरी दुर्घटना बीमा रकमसमेत बुझिसकेका मोरङ लेटाङका एक व्यक्ति पाँच महिनापछि जीवितै घर फर्किएका छन्। लेटाङ नगरपालिका–५ खेरुवाका ३६ वर्षीय पदमबहादुर राय दशैंको पूर्णिमाका दिन घर फर्किएपछि परिवारमा खुसीसँगै अन्योल छाएको छ।
मानसिक स्वास्थ्य कमजोर रहेका पदमबहादुर २०८२ माघदेखि घरबाट बेपत्ता थिए। गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक अज्ञात पैदलयात्री घाइते भई उपचारका क्रममा जेठ २७ गते विराट टिचिङ अस्पतालमा मृत्यु भएको थियो। शवको हुलिया पदमबहादुरसँग मिल्दोजुल्दो देखिएपछि अस्पताल पुगेकी आमाले आफ्नै छोरा भएको भन्दै सनाखत गरेकी थिइन्। त्यसपछि परिवारले शव बुझेर चिसाङ खोलामा अन्तिम संस्कार गरेको थियो।
छोराको मृत्यु भएको शोकमा परिवारले यसपालि दशैंको टीकासमेत नलगाएको अवस्थामा पदमबहादुर घर आइपुगेपछि धार्मिक विधिअनुसार पुनर्जन्मको संस्कार गरिएको छ। उता परिवारले सवारी दुर्घटनाबापतको बीमा रकमसमेत बुझिसकेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्राप्त बीमा रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको छ। यस्तै सरकारी अभिलेख सच्याएर जेठमा दुर्घटनामा ज्यान गुमाएका ती वास्तविक व्यक्तिको पहिचानका लागि पुनः नयाँ शिराबाट अनुसन्धान थालिने प्रहरीले जनाएको छ।






