दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि आवागमन ठप्प हुँदा पुल वारिपारिका होटल व्यवसाय प्रभावित बनेका छन्। भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने उक्त पुलको एउटा पिल्लर भत्किएपछि स्थानीय प्रशासनले दुवैतर्फ ताला लगाएर आवतजावत पूर्ण रूपमा बन्द गरेको छ।

पुल बन्द भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेपछि व्यापार चौपट भएको होटल व्यवसायी मोहनबहादुर सिंहले बताउनुभयो। “दसैँ–तिहारको मुख्य सिजनमा दैनिक आठ–दश हजार रुपियाँसम्म कमाइ हुन्थ्यो, अहिले त मुखमै ताला लगाएजस्तो भएको छ,” सिंहले गुनासो गर्नुभयो।

भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराका अनुसार चाडपर्वका बेला दैनिक दुईदेखि तीन हजार पर्यटक आउने र हिउँदमा शैक्षिक भ्रमणले भरिभराउ हुने पुल क्षेत्र अहिले सुनसान बनेको छ। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले यो पुल आवागमनको माध्यम मात्र नभई प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेकाले पर्यटन प्रवर्द्धनका लागि तत्काल पुनर्निर्माण अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

प्राविधिक टोलीले पुल पुनर्निर्माणका लागि करिब २० करोड रुपियाँ लागत र एक वर्ष समय लाग्ने प्रतिवेदन बुझाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले पुल पुनर्निर्माणका लागि एक करोड रुपियाँ विनियोजन गरे पनि स्थलगत रूपमा कामको सुरसार नदेखिएको भन्दै स्थानीय र व्यवसायीले तत्काल निर्माण थाल्न सरकारसँग माग गरेका छन्।

spot_img

ताजा समाचार