धनगढीबाट काठमाडौँ छुटेको बस दुर्घटना अपडेट : घाइतेको संख्या ३३ पुग्यो

प्रकाशित मिति:
spot_img

धनगढी । धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । आइतबार बिहान अन्दाजी ६ बजेर ४० मिनेटमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमै पल्टिएको हो ।

दुर्घटनालगत्तै २५ जना घाइते भएको विवरण आए पनि पछि ३३ जना घाइते भएको पुष्टि भएको प्रहरीले जनाएको छ । बसमा जम्मा ४१ जना सवार थिए । घाइतेमध्ये १ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ भने ३२ जनाको डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बसका चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० का ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।

दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–११ का ३९ वर्षीय शिवदत्त राना, धनगढी–४ की २० वर्षीया जानु चौधरी, गोदावरी नगरपालिका–१० का ३७ वर्षीय डम्बरबहादुर माली, गोदावरी–२ की १९ वर्षीया खेमा मल्ल, सोही स्थानकी २८ वर्षीया शोभा मल्ल (दिदी) र घोडाघोडी नगरपालिका–२ की २२ वर्षीया चाँदनी खत्री घाइते भएका छन् । यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ३२ वर्षीय केशव धामी, उनकी ९ वर्षीया छोरी प्रतीक्षा धामी, लेकम गाउँपालिका–५ का ३४ वर्षीय दयाकृष्ण जोशी, लेकम–५ कै २८ वर्षीय रमेश जोशी, उनकी ७ वर्षीया भतिजी श्रुती जोशी, मार्मा गाउँपालिका–२ की १४ वर्षीया नविना भट्ट र दुहु गाउँपालिका–४ का २० वर्षीय रोहित लोथेल पनि घाइते भएका छन् ।

डडेल्धुराको अजयमेरु गाउँपालिका–३ का ३२ वर्षीय महेश पाण्डे, नवदुर्गा गाउँपालिका–३ का ४२ वर्षीय डम्बरसिंह साउद, अमरगढी नगरपालिका–४ की ४० वर्षीया गीता कठायत, सोही स्थानकी २० वर्षीया रक्षा कठायत, भागेश्वर गाउँपालिका–३ की २० वर्षीया पुष्पा भाट र सोही स्थानकी २३ वर्षीया पवित्रा रावल घाइते हुनेमा परेका छन् । यसैगरी, बैतडीको दोगडाकेदार गाउँपालिका–५ की ७८ वर्षीया धाना चन्द, उनका ३९ वर्षीय छोरा प्रेमबहादुर चन्द, पुर्चौडी नगरपालिका–१ का ३१ वर्षीय राजेन्द्र जोशी, उनकी ३० वर्षीया श्रीमती भागरथी जोशी, २ वर्षीया छोरी रेणुका जोशी र मेलौली नगरपालिका–२ का २१ वर्षीय महेश बिसीको पनि उपचार भइरहेको छ ।

घाइते हुने अन्य यात्रुहरूमा डोटीको शिखर नगरपालिका–११ का ३० वर्षीय वसन्त बलायर, दिपायल सिलगढी नगरपालिका–१० का १८ वर्षीय अङ्कित यादव, सोही स्थानकी २४ वर्षीया ज्योति बुडाल र उनका १५ वर्षीय भाइ धीरज बुडाल रहेका छन् । यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ की २० वर्षीया जेनी राना र दोधारा चाँदनी नगरपालिका–२ की २५ वर्षीया प्रिया साउद तथा अछामको चौरपाटी गाउँपालिका–२ का १७ वर्षीय अमित साउद र धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–५ का १८ वर्षीय भानु यादव घाइते भएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार