बझाङ । दशैँ–तिहारको बिदा मनाएर डडेल्धुरा फर्किंदै गरेका एकै परिवारका चार सदस्यको बझाङमा अटोरिक्सा दुर्घटनामा मृत्यु भएको छ।
हिजो सोमबार बिहान बझाङको बुङ्गल नगरपालिका वडा नम्बर दस टुमेडास्थित भित्री कच्ची सडक खण्डमा टुमेडा गाउँबाट वडा नम्बर एघार हिड्नेगडा बजारतर्फ जाँदै गरेको अटोरिक्सा ब्रेक फेल भई सडकबाट करिब नौ सय मिटर तल भिरमा खसेको हो।
दुर्घटनामा बुङ्गल दस की पैंतीस/चालीस वर्षीया राजमति महरा, पन्ध्र/सोह्र वर्षीया तारा महरा, पाँच/छ वर्षीया डल्ली महरा र चार वर्षीय रियास महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। सुरुमा तीन जनाको शव फेला परेकोमा थप खोजीका क्रममा चार वर्षीय रियास महराको शवसमेत भेटिएपछि मृतकको सङ्ख्या चार पुगेको हो।
डडेल्धुराबाट बझाङ सरुवा भएका स्थायी शिक्षक दीपक महराले आगामी शैक्षिक सत्रदेखि छोराछोरीलाई आफूसँगै राखेर पढाउने योजना बनाएका थिए। तर, परिवारसँगै बस्ने उनको सपना पूरा नहुँदै दुर्घटनाले श्रीमती, छोराछोरी र भतिजीसहित चार सदस्य खोसेको छ।
चालकसहित छ जना सवार उक्त अटोमा रहेका बाह्र/तेह्र वर्षीय विक्रम महरा सकुशल घरतर्फ गएको बुझिएको छ। अटोचालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






