महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक एकाइगत साधारणसभा सम्पन्न भएको छ।
आइतबार आयोजित सभामा संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहकारीले उक्त आर्थिक वर्षमा राज्यलाई ३३ लाख ६१ हजार २७ रुपैयाँ कर बुझाएको जानकारीसमेत दिइएको थियो।
सहकारी लेखा समिति सदस्य तारा प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार समिति संयोजक सिद्धराज भट्ट प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टलगायतको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टले सहकारीको सफलताका लागि शेयर सदस्य र संस्थाबीचको आपसी विश्वास, सहकार्य र सुमधुर सम्बन्ध महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले सहकारीले आगामी दिनमा पनि सदस्यको विश्वास कायम राख्दै प्रगति गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले संस्थाले पारदर्शी कार्यशैली, व्यवस्थित कारोबार र सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो।
सहकारीका वरिष्ठ अधिकृत महादेव नाथले संस्थाले पारदर्शिता र प्रविधिको प्रयोगमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताउँदै सदस्यहरूलाई मोबाइल बैंकिङलगायत सहकारीका डिजिटल सुविधाको उपयोग गर्न आग्रह गर्नुभयो।
सभाका अवसरमा उत्कृष्ट बचतकर्तालाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको समापन अध्यक्षता गर्नुभएका लेखा समिति सदस्य तारा प्रसाद पाण्डेयले गर्नुभएको थियो।






