दार्चुला । सुदूरपश्चिमका पहाडी जिल्ला सिधै भारतीय सडक सञ्जालसँग जोडिएका छन् । दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने मोटरेबल पुलको आज (सोमबार) उद्घाटन भएसँगै सुदूर पहाड र भारतबिच सीधा यातायात सम्पर्क स्थापित भएको हो ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल प्रविधिमार्फत ११० मिटर लामो उक्त पुलको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । दार्चुलाको महाकाली नगरपालिका–८, असीगडा र भारतको उत्तराखण्डस्थित धारचुला तहसिलको छारछुम जोड्ने यो पुल भारत सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण गरिएको हो । भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेडले ३२ करोड ९८ लाख भारतीय रुपियाँ लागतमा पुल निर्माण गरेको हो । दुई वर्षअघि नै निर्माण कार्य सम्पन्न भए पनि औपचारिक उद्घाटन हुन सकेको थिएन ।
पुल सञ्चालनमा आएसँगै दार्चुला, बैतडी र बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई भारत आवतजावत गर्न सहज भएको छ । लामो समयदेखिको जोखिमपूर्ण सीमा आवागमनको बाध्यता अन्त्य हुनुका साथै स्थानीय कृषि उपज, जडीबुटीको सीमापार व्यापार र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा समेत ठुलो टेवा पुग्ने विश्वास गरिएको छ । पुल सञ्चालनको व्यवस्थापनका लागि नेपालतर्फ प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय राख्न अस्थायी संरचना निर्माण भइरहेको छ ।






