काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज (मङ्गलबार) पाकिस्तान ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ ।
सेमिफाइनल यात्रा जीवित राख्न महत्त्वपूर्ण मानिएको आजको खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध ६ विकेटको सानदार जित निकाल्दै उत्कृष्ट पुनरागमन गरेको थियो ।
उता, लगातार दुई जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको पाकिस्तान ‘ए’ आज तेस्रो जितसहित समूह विजेता बन्ने लक्ष्यमा छ । पाकिस्तानले पहिलो खेलमा युएई र दोस्रो खेलमा भारत ‘ए’ लाई पराजित गरेको थियो । समूह ‘बी’ को अङ्क तालिकामा पाकिस्तान चार अङ्कसहित शीर्ष स्थानमा छ भने नेपाल दुई अङ्कसहित तेस्रो स्थानमा छ ।
नेपालसामु तीन वर्षअघिको हारको बदला लिने अवसरसमेत छ । सन् २०२३ को संस्करणमा भएको एकमात्र भेटमा पाकिस्तानले नेपाललाई ४ विकेटले हराएको थियो । त्यतिबेला नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।






