काठमाडौं । भारतमा निर्वासन जीवन बिताइरहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छन् । मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी हसिना बङ्गलादेश फर्किएमा पक्राउ पर्ने निश्चितप्रायः छ ।
विद्यार्थी नेतृत्वको जनविद्रोहले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना सन् २०२४ अगस्ट ५ मा भारत पलायन भएकी थिइन् । आन्दोलनका क्रममा सयौँ प्रदर्शनकारी मारिएको घटनामा संलग्न रहेको अभियोगमा अदालतले उनलाई मृत्युदण्डको फैसला सुनाएको थियो । उक्त फैसलालाई अस्वीकार गर्दै हसिनाले स्वदेश फर्किएर कानुनी लडाइँ लड्ने बताएकी छन् ।
हसिनाले मङ्गलबार आफ्नो स्वदेश फिर्तीको घोषणा गर्दै बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत नयाँदिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन आग्रह गरेकी छन् । उनका प्रवक्ता सैयद मोजाम्मेल अलीका अनुसार सन् २०२४ अगस्ट ५ मा बङ्गलादेशी विमानबाटै भारत गएकाले फर्किने यात्राको प्रबन्ध पनि सरकारले नै गर्नुपर्ने हसिनाको भनाइ छ ।
सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि बङ्गलादेश स्वतन्त्र भएको स्मरणमा डिसेम्बर १६ मा ‘विजय दिवस’ मनाइन्छ । आफ्ना पिता तथा बङ्गलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको नेतृत्वमा हासिल भएको ऐतिहासिक विजयको सम्मान गर्दै हसिनाले सोही दिन स्वदेश फर्कन चाहेको उनका सहयोगी अबु ओबैदा अरिनले जानकारी दिए । यस महिनाको सुरुमा एसोसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा हसिनाले जस्तोसुकै मूल्य चुकाएर भए पनि डिसेम्बरमै स्वदेश फर्कने र मृत्युसमेतले आफूलाई रोक्न नसक्ने बताएकी थिइन् ।
यद्यपि, बङ्गलादेश सरकारले भने हसिनालाई दोषी ठहर भइसकेको व्यक्तिका रूपमा लिएको छ । प्रधानमन्त्री रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिनाको सुपुर्दगीका लागि भारतसँग औपचारिक माग गरिसकिएको र सरकार आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।






