दार्चुला । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीको कटान तथा डुबान जोखिम न्यूनीकरण गर्न नेपालतर्फको किनारमा पक्की तटबन्ध निर्माण गर्न स्थानीयले माग गरेका छन् । नदीको उच्च जोखिम रहेका बस्ती र संरचना जोगाउन प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल र प्रतिनिधि सभा सदस्य करिश्मा कठरियामार्फत सङ्घीय सरकारसमक्ष मागपत्र बुझाइएको महाकाली नगरपालिका–८ का तारादत्त भट्टले जानकारी दिए ।
भारततर्फको नदी किनारमा त्यहाँको सरकारले धमाधम पक्की तटबन्ध निर्माण गरिरहेको छ । एकतर्फी रूपमा भारततर्फ मात्र तटबन्ध बन्दा बर्सातको समयमा नदीको बहाव नेपालतर्फ मोडिएर ठुलो धनजनको क्षति हुने भन्दै स्थानीयले नेपालतर्फ पनि तत्काल पक्की तटबन्ध निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विसं २०७० मा महाकालीमा आएको भीषण बाढीले दार्चुलाका ११० परिवारको घरजग्गा बगाएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका नायब सुब्बा रामराज पन्तका अनुसार उक्त बाढीले एकै व्यक्तिको ५० लाखदेखि एक करोड रुपियाँसम्मको क्षति पुर्याएको थियो । बाढीको १३ वर्ष बितिसक्दासमेत पीडितले उचित राहत पाउन नसकेको गुनासो गरेका छन् । घरजग्गा सबै गुमाएका परिवारलाई तत्कालीन सरकारले ३५ हजार रुपियाँमात्रै उपलब्ध गराएको थियो ।
२०७० सालको बाढीपछि महाकाली नगरपालिका–५ को नमस्कारदेखि बङ्गाबगड र श्रीबगरसम्मको पाँच किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गरिए पनि जोखिमयुक्त अन्य बस्ती र कटान क्षेत्र अझै असुरक्षित रहेकाले तत्काल तटबन्ध विस्तार गर्न स्थानीयले माग गरेका हुन् ।






