आजदेखि यातायात सम्बद्ध कर अनलाइनबाटै भुक्तानी गर्न पाइने

काठमाडौं: आजदेखि बाग्मती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ।

सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवानालगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो।

बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ–वालेट र बैंकिङ एपबाटै तिर्न सकिने बताए। यसले ब्लुबुक नवीकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने उनले बताए । महामारीमा भीड कम गर्न पनि यो सुविधाले सघाउ पुग्ने मन्त्री फुँयालको विश्वास छ।

यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट उद्घाटन गर्ने कार्यक्रम छ। यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ। त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ।

ताजा समाचार